बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा एक ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर १ राताशिलास्थित सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परि मृत्यु हुनेमा पुर्चौडी नगरपालिका वडा नम्बर १ बुदडा स्थायी घर भई हाल कञ्चनपुरको महेन्द्रनगर बस्दै आएका ४४ वर्षीय चालक देवसिंह भण्डारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसो अन्दाजी साढे ३ बजको समयमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ त १६०० नम्बरको ट्याक्टर राताशिलामा दुर्घटनाग्रस्त भएको थियो। गुडिरहेको ट्याक्टर अचानक सडकबाट अन्दाजी २० देखि २५ मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ।
ट्याक्टर सडकबाट तल खसेर किचिँदा गम्भीर चोट लागेका चालक भण्डारीको घटनास्थलमै ज्यान गएको हो।