काठमाडौँ । नेकपा (एमाले)का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा पूरक अभियोगपत्र दायर गर्न लागेको हो। विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भिमसेन काफ्लेका अनुसार यसअघि व्यवसायी दीपक भट्टसहित केही प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भइसकेकाले अब सोही मुद्दामा पूरक अभियोगपत्र पेस गर्न लागिएको हो।
उनले अनुसन्धान प्रतिवेदनको अन्तिम रुजु भइरहेको र तोकिएको समयभित्र विशेष अदालतमा अभियोगपत्र दर्ता गरिने जानकारी दिए। अनुसन्धानका क्रममा स्रोत नखुलेको सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा एमाले नेता पौडेललाई मतियारका रूपमा सजायको मागसहित अभियोगपत्र तयार गरिएको जनाइएको छ। पूरक अभियोगपत्रमा करिब ३३ करोड रुपैयाँ बराबरको सम्पत्ति, १५० रोपनीभन्दा बढी जग्गा तथा तीन लाख ७५ हजार कित्ता सेयर कारोबारलाई सम्पत्ति शुद्धीकरणसँग जोड्दै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ।