काठमाडौँ । सरकारले गत वैशाखमा काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाएपछि संकलन गरिएका उनीहरूका सामान अझै पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै अलपत्र अवस्थामा रहेका छन्।
बस्ती हटाउने क्रममा सुकुम्बासीलाई अस्थायी व्यवस्थापनका लागि विभिन्न होल्डिङ सेन्टरमा सारिएको थियो। तर उनीहरूका केही सामान भने रंगशालामै राखिएको थियो, जुन करिब साढे दुई महिनादेखि त्यहीँ थन्किएको छ। निरन्तरको वर्षाका कारण अधिकांश सामान भिजेर कुहिन थालेको र दुर्गन्ध फैलिएको रंगशालाका कर्मचारीहरूले बताएका छन्। रंगशाला व्यवस्थापनले गृह मन्त्रालय र काठमाडौँ महानगरपालिकासँग पटक–पटक सामान व्यवस्थापनका लागि आग्रह गरे पनि हालसम्म कुनै पहल नभएको कर्मचारीहरूको गुनासो छ। लामो समयदेखि खुला स्थानमा थन्किएका सामान बिग्रँदै गएपछि त्यसको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीयले माग गरेका छन्।