बाजुरा । बाजुराका एक युवाको भारतको बैंगलोरमा कुटपिटपछि मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका–३ का २१ वर्षीय गजेन्द्र विश्वकर्मा रहेका छन् ।
घटनामा संलग्न भएको आरोपमा बाजुराकै बुढीनन्दा नगरपालिका–१० पान्डुसैन डाँडाका २६ वर्षीय नरेन्द्र चदारा र २२ वर्षीय राम चदारालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपित गोविन्द चदारालगायतका केही व्यक्ति फरार रहेको मृतकका दाजु सुरेश बिकले जानकारी दिए ।
मृतक विश्वकर्माको शव अस्पतालमै रहेको उनले बताए । घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरूलाई पक्राउ नगरेसम्म शव नउठाउने अडान आफन्तको छ । मृतक गजेन्द्र रोजगारीको सिलसिलामा चार वर्षदेखि बैंगलोरमा बस्दैआएका थिए ।