भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सिद्धार्थ राजमार्ग अन्तर्गत एक तीव्र गतिको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस ओमसतिया–०२ सरस्वती टोलमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी माइक्रोबसका सहचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय सन्दीप बरालको दुखद मृत्यु भएको छ। दुर्घटना लगतै टाउकोमा गम्भीर चोट लागेका बराललाई उद्धार गरी तत्काल भीम अस्पताल भैरहवा पु¥याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन्।
दुर्घटनामा परेर माइक्रोबसमा सवार ७ जना यात्रुहरू घाइते भएका छन्। घाइतेहरू मध्ये
कृष्णकुमारी बेलबासे थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा लाई थप उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम पठाइएका प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अन्यको अवस्था सामान्य रहेको जनाएको छ । श्रद्धा जोशी, प्रकाश गाहा, सुनिल थापा, कुलदीप गुप्ता, शाहाबुन निसाको अवस्था सामान्य रहेका छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
माइक्रोबस अनियन्त्रित भएर सडकमा पल्टिए लगतै चालक भने घटनास्थलबाट फरार भएका थिए। प्रहरीको सक्रियतामा दुर्घटनापछि फरार रहेका चालक रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ गणेशपुर बस्ने ४६ वर्षीय छविलाल थापालाई नियन्त्रणमा लिइएको छ।
थापालाई हिरासतमा राखी सवारी ज्यान मुद्दा अन्तर्गत दुर्घटनाको मुख्य कारण र तीव्र गतिको विषयमा प्रहरीले थप कानुनी अनुसन्धान अगाडि बढाएको छ।