पर्सा । पर्साको पकहामैनपुर गाउँपालिकामा खेतमा धान रोपिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सात जना महिला किसान घाइते भएका छन्। पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा वर्षासँगै परेको चट्याङ लागेर उनीहरू घाइते भएका हुन्। आकाशमा बादल गर्जने र वर्षा हुने क्रमसँगै खेतमा काम गरिरहेका स्थानीय महिलाहरू चट्याङको चपेटामा परेका थिए।
प्रहरी र स्थानीय अस्पतालका अनुसार घाइते हुनेहरू सबै पकहामैनपुर गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन्। घाईते हुनेमा ५५ बर्षिया शान्तिदेवी सहनी, कुश्मी देवी सहनी, राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवीको पनि रक्सौलकै डंकन अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था भने मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
घटना लगतै स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेहरूको उद्धार गरी अस्पताल पु¥याइएको थियो। सीमावर्ती क्षेत्र भएकाले गम्भीर र मध्यम घाइते भएका ६ जनालाई द्रुत उपचारका लागि नेपाल–भारत सीमा पारि रक्सौलको प्रसिद्ध डंकन अस्पताल लैजानुपरेको बुझिएको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरी चौकीले थप अनुसन्धान गरिरहेको छ।
सचेतना सन्देशः मनसुनको समयमा खेतबारीमा काम गर्दा मेघगर्जन र वर्षा सुरु भएमा तुरुन्तै खुला क्षेत्र छोडेर सुरक्षित ओत वा पक्की भवनभित्र जानुपर्छ। पानी जमेको खेत र फलामका औजारहरूले चट्याङलाई आकर्षित गर्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनु जरुरी हुन्छ।