काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिहरूलाई जनतासँग निरन्तर सम्पर्क र संवाद कायम राख्न आग्रह गरेका छन्। संसद् र नागरिकबीचको सम्बन्ध जति बलियो हुन्छ, लोकतन्त्र पनि त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासिलो बन्ने उनको भनाइ छ।
प्रतिनिधिसभाको बैठक समापन गर्दै सभामुख अर्यालले संसद् लोकतान्त्रिक शासन व्यवस्थाको केन्द्र भएकाले जनताका आवाज, अपेक्षा र सरोकारलाई प्रभावकारी रूपमा सदनसम्म पुर्याउनु सांसदहरूको प्रमुख जिम्मेवारी भएको बताए। उनका अनुसार सांसदहरू केवल जनप्रतिनिधि मात्र होइनन्, जनता र संसद्बीच विश्वास तथा उत्तरदायित्व कायम गर्ने महत्वपूर्ण माध्यम पनि हुन्। उनले जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु र संसद्बाट भएका निर्णयलाई पुनः नागरिकसम्म पुर्याउनु जनप्रतिनिधित्वको मूल दायित्व भएको उल्लेख गर्दै प्रत्येक सांसदले नियमित रूपमा आफ्ना मतदातासँग भेटघाट र संवाद गर्नुपर्नेमा जोड दिए।
सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बस्ने जानकारी दिँदै त्यसअघिको अवधिमा सांसदहरूले सरकारका नीति, कार्यक्रम, सेवा प्रवाह तथा हालै निर्माण भएका कानुनबारे जनताको प्रतिक्रिया, सुझाव र चासो संकलन गर्नुपर्ने बताए। उनले संविधानले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई अंगीकार गरेको स्मरण गराउँदै तीनै तहबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन पनि सांसदहरूको भूमिका महत्वपूर्ण रहने बताए। प्रदेश र स्थानीय तहका अनुभव, चुनौती तथा अपेक्षालाई संघीय तहसम्म पुर्याउन सांसदहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो।
जनताबाट संकलित मुद्दाहरू संसद्मा उठ्ने, सरकारसमक्ष समाधानका लागि प्रस्तुत हुने र त्यसबाट नागरिकका समस्याको सम्बोधन हुने प्रक्रियालाई नै प्रतिनिधिमूलक लोकतन्त्रको वास्तविक शक्ति भएको सभामुख अर्यालले बताए। सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको उल्लेख गर्दै उनले प्रचलित कानुनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणको अभियानमा संसद्को सक्रिय भूमिका रहने विश्वास पनि व्यक्त गरे। साथै, आगामी अधिवेशनमा सांसदहरू अझ प्रभावकारी ढंगले सहभागी हुने अपेक्षा उनले राखे।