काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।
बुधबारको बैठकको अन्त्यमा सभामुख अर्यालले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रका मतदाता र नागरिकसँग भेटघाट तथा संवाद गर्न समय आवश्यक रहेको निष्कर्षका आधारमा बैठक स्थगित गरिएको बताए ।
उनले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएको उल्लेख गर्दै जनप्रतिनिधिहरूले जनताको आवाज, अपेक्षा र आकांक्षालाई संसदसम्म पुर्याउने तथा संसद्का निर्णय जनतामाझ लैजाने दुवै जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
सभामुख अर्यालले संसदीय अवकाशलाई जनतासँगको प्रत्यक्ष संवाद र विमर्शको अवसरका रूपमा उपयोग गर्न सांसदहरूलाई आग्रह पनि गरे । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा १५ दिनपछि मात्र बस्ने निर्णय गरेको थियो ।