काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको भन्दै होटल व्यवसायीहरूले व्यक्त गर्दै आएको चिन्ता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार होटल संघ नेपाल ९हान०का पदाधिकारीसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै पर्यटन उद्योगको विस्तारका लागि सहकार्य आवश्यक रहेको बताए। प्रधानमन्त्री शाहले होटल व्यवसायीलाई प्रचलित कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे। साथै, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत सञ्चालन गर्न सकिने योजनाबारे अध्ययन गर्न पनि सुझाव दिए।
छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसहित हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको जानकारी गराएका थिए। व्यवसायीहरूले हाल वार्षिक करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको उल्लेख गर्दै पर्यटक संख्या बढाउन सकिए होटल उद्योगमार्फत ठूलो मात्रामा रोजगारी सिर्जना हुने र वैदेशिक रोजगारीतर्फ जाने युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सकिने धारणा राखेका थिए। बैठकमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।