काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले देशमा बढ्दो आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पछिल्ला आत्मदाहका घटनाले मुलुकको मानसिक स्वास्थ्य अवस्था र यससम्बन्धी सरकारी तयारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। सांसद खनालले विज्ञान र प्रविधिमा उल्लेखनीय प्रगति भए पनि मानसिक स्वास्थ्यको क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताए। डिप्रेसन, चिन्ता तथा आत्मदाहका घटनामा वृद्धि भइरहेका कारण मानसिक स्वास्थ्यलाई थप संवेदनशील र गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।
उनले भने, “हालैका आत्मदाहका घटनाले हामी सबैलाई गहिरो सोच्न बाध्य बनाएका छन्। अब मानसिक स्वास्थ्यका विषयमा व्यापक बहस, अनुसन्धान र प्रभावकारी नीति निर्माण आवश्यक भइसकेको छ।” खनालले मानसिक स्वास्थ्य सेवा अझै पनि सीमित, असमान र मुख्यतः राजधानी केन्द्रित रहेकाले देशभरका नागरिकले सहज रूपमा सेवा पाउन नसकेको बताए। मानसिक स्वास्थ्यलाई केवल रोगको उपचारसँग मात्र नजोडी जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षसँग सम्बन्धित समग्र विषयका रूपमा हेर्नुपर्नेमा उनले जोड दिए।
उनले समयानुकूल मानसिक स्वास्थ्य नीति परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्न र यस क्षेत्रमा संस्थागत सुधार अघि बढाउन सरकारलाई आग्रह गरे। सांसद खनालले मानसिक स्वास्थ्य सेवाको नियमन, अनुगमन र व्यवस्थापनलाई व्यवस्थित बनाउन मेन्टल हेल्थ काउन्सिल मानसिक स्वास्थ्य परिषद् गठन गर्नुपर्ने प्रस्ताव पनि राखे। उनले मानसिक स्वास्थ्यलाई राजनीतिक मतभेदभन्दा माथि राखेर साझा राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन सरकार र प्रतिपक्ष दुवैले सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे। नेपालमा मानसिक स्वास्थ्य परिषद् गठन गरियोस्। दक्ष र योग्य मनोवैज्ञानिकको सहभागितामा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन तथा व्यवस्थापन गर्ने संस्थागत संयन्त्र निर्माण गर्न आवश्यक छ, उनले भने।