काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार मलेसियाको बायोमास ओभल मैदानमा भएको क्वाटरफाइनल खेलमा जापानलाई ९ विकेटको अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।
जापानले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्य नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाउँदै सहजै पूरा ग¥यो। कम स्कोरको लक्ष्य पछ्याउने क्रममा नेपालकी प्रारम्भिक ब्याटर (ओपनर) सावित्री धामीले उत्कृष्ट इनिङ्स खेलिन्। उनले अविजित रहँदै सर्वाधिक ४१ रनको योगदान गरिन्।
सावित्रीलाई बलियो साथ दिँदै कप्तान सोनी पाख्रिनले अविजित १८ रन तथा साना प्रविनले १८ रनको योगदान गरे। जापानका तर्फबाट ममता कास्वानले मात्र १ विकेट लिन सकिन्, जुन नेपाललाई रोक्न पर्याप्त भएन।
त्यसअघि मलेसियाको मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जापानले नेपाली बलरहरूको कसिलो बलिङसामु खुलेर खेल्न सकेन। जापानले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।
जापानका लागि कप्तान बियन्का सिनोले अविजित ३८ रनको सर्वाधिक इनिङ्स खेलिन् भने अयान साकुराबा र किचो सुजुकीले १०–१० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
जापानलाई सस्तैमा समेट्न नेपालका तर्फबाट रिया शर्मा र क्रिस्मा गुरुङले घातक बलिङ गर्दै समान २–२ विकेट लिए। त्यस्तै, अनु कडायत, मनिषा उपाध्याय र कप्तान सोनी पाख्रिनले १–१ विकेट हात पारे।