काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन बुधबार पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन्।
उपसभामुख ठाकुर जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको निङ्चीमा आयोजना हुने पाँचौं चीन–तिब्बत ट्रान्स–हिमालय अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्समार्फत् चीन प्रस्थान गरेकी हुन्। उनको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा। रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्।
असार ३१ देखि साउन २ गते (जुलाई १५–१७, २०२६) सम्म सञ्चालन हुने उक्त मञ्चमा उपसभामुख ठाकुरले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मञ्चमा हिमालय क्षेत्रको दिगो विकास, क्षेत्रीय सहकार्य र पारस्परिक सम्बन्ध सुदृढीकरणका विषयमा व्यापक छलफल हुने जनाइएको छ। भ्रमणका क्रममा उपसभामुख ठाकुरले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसबाहेक अन्य उच्चस्तरीय भेटघाटसमेत हुने कार्यसूची छ। प्रतिनिधिमण्डलले भ्रमण सम्पन्न गरी साउन ४ गते दिउँसो १२ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।