काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा गरिएको विशेष चेकिङका क्रममा १०९.०९६ किलोग्राम गाँजा बरामद भएको हो। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा धादिङ जिल्लाको गजुरी नगरपालिका वडा नम्बर ७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङ रहेका छन्।
अवैध लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीपलाई रोकेर खानतलासी गरेको थियो।
प्रहरीका अनुसार जीपको पछाडिको भागमा त्रिपालले ढाकेर अत्यन्तै सुरक्षित र चलाखीपूर्ण तरिकाले लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकले बेरिएका १५ वटा ठुला पोकाहरू फेला परेका थिए। ती पोकाहरू खोलेर तौल गर्दा कुल १०९.०९६ किलोग्राम अवैध गाँजा पुष्टि भएपछि प्रहरीले गाडी र त्यसमा सवार व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएको हो।
प्रहरीले बरामद गरिएको अवैध गाँजा र ओसारपसारमा प्रयोग गरिएको जीपसहित पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी कारबाही अगाडि बढाएको छ। उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ पु¥याउन लागिएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।