काठमाडौँ । पत्रकार ऋषि धमलाले सञ्चारगृहलाई लक्षित गर्दै डर, त्रास र अवरोध सिर्जना गर्ने गतिविधिको कडा आलोचना गर्दै यस्ता कार्य लोकतान्त्रिक मूल्य–मान्यता र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको बताएका छन्।
नेपाल न्यूजबैंकसँगको कुराकानीमा उनले पछिल्लो समय सञ्चार संस्थामाथि भइरहेका दबाब र अवरोधका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे। धमलाले सञ्चारगृहको प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरेर कामकाजमा अवरोध पुर्याउने र भयको वातावरण सिर्जना गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनका अनुसार यस्ता गतिविधिले प्रेस स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनमाथि नै चुनौती खडा गर्छ।
उनले कान्तिपुर मिडिया ग्रुप, हिमालयन टेलिभिजन र अनलाइनखबरको कार्यालय बाहिर लामो समयसम्म सवारीसाधन पार्किङ गरिएको घटनाको उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग गरे। घटनाको वास्तविकता सार्वजनिक गर्दै संलग्न जो–कोहीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ थियो। सञ्चारगृहमाथि आक्रमण गर्ने वा पार्किङको बहानामा अवरोध सिर्जना गर्ने कार्य लोकतान्त्रिक अभ्यासविपरीत हो। हामी सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छौँ,’ उनले भने। धमलाले लोकतान्त्रिक व्यवस्थामा फरक विचार र दृष्टिकोणलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै समाचार प्रकाशन वा प्रसारणकै कारण सञ्चारमाध्यममाथि दबाब, धम्की वा त्रास सिर्जना गर्ने प्रयास अस्वीकार्य हुने बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(ले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सरकारले सञ्चार संस्थामाथि हुने यस्ता गतिविधि रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताए।
सञ्चार क्षेत्रले जस्तोसुकै परिस्थितिमा पनि स्वतन्त्र र निर्भीक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने उल्लेख गर्दै उनले सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारको धम्की वा त्रास अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए। सरकारको प्रत्यक्ष संलग्नता नरहेको भए पनि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग थियो। फरक प्रसंगमा उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णय उचित नभएको बताए। सर्वोच्च अदालतले उक्त निर्णय खारेज गरेको स्वागत गर्दै उनले यसबाट सञ्चार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। धमलाले लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा सर्वोच्च अदालतले दिएको निर्णय सकारात्मक रहेको उल्लेख गर्दै न्यायालयप्रति आभारसमेत व्यक्त गरे।