काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उद्योगी–व्यवसायीबाट उठाउन बाँकी रहेको विद्युत् महसुलको बक्यौता असुली प्रक्रिया कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विद्युत् महसुल असुली नेपाल विद्युत् प्राधिकरणको नियमित प्रक्रिया भएको उल्लेख गर्दै राज्यलाई तिर्नुपर्ने रकमबाट कसैले पनि उन्मुक्ति पाउन नसक्ने बताए। उनले बक्यौता असुली कानुन र नियमअनुसार अघि बढिरहेको उल्लेख गर्दै राज्यको राजस्व सुनिश्चित गर्न सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राखे। मन्त्री श्रेष्ठले हरेक वर्ष असार, साउन र भदौ महिनामा विद्युत् आपूर्तिमा विभिन्न चुनौती देखिने गरे पनि यस वर्ष मर्मत तथा मर्मत–सम्भारका कामलाई छिटो र प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिए। विगतमा वर्षायामका तीन महिना चुनौतीपूर्ण हुने गरे पनि त्यसलाई बहाना बनाएर सेवा प्रवाहमा कमजोरी देखाउने छुट नेपाल विद्युत् प्राधिकरणलाई नभएको उनको भनाइ थियो। उनले यस वर्षदेखि विद्युत् प्रणालीको स्तरउन्नतिका लागि आवश्यक बजेट र कार्यक्रमसमेत व्यवस्था गरिएको जानकारी दिँदै सेवा प्रवाहलाई थप भरपर्दो र प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताए।