काठमाडौँ । मलेसियामा जारी एसीसी महिला यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले सानदार प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार मलेसियाको यूएसडी यूकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले सिङ्गापुरलाई १५१ रनको फराकिलो अन्तरले स्तब्ध पारेको हो। यो जितसँगै समूह ‘डी’ मा रहेको नेपालले २ खेलबाट ४ अङ्क जोड्दै शीर्ष स्थानमा बलियो पकड बनाएको छ। लगातार दोस्रो हार ब्यहोरेको सिङ्गापुर भने अङ्कविहीन छ।
नेपालले प्रस्तुत गरेको २०० रनको पहाड जस्तो विशाल लक्ष्य पछ्याएको सिङ्गापुर नेपाली बलरहरूको कसिलो र धारिलो बलिङसामु निरिह देखियो। सिङ्गापुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर मात्र ४८ रन बनाउन सक्यो।
सिङ्गापुरका लागि अंकिता वर्षा राजले सर्वाधिक १९ रनको योगदान दिइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क (१० रन) सम्म छुन सकेनन्। नेपालका लागि घातक बलिङ गर्दै अनु कडायतले ३ विकेट लिइन्। त्यस्तै मनिषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट झारे भने कप्तान सोनी पाख्रिनले १ विकेट आफ्नो नाममा गरिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा बिनाकुनै विकेट गुमाएर १९९ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि दुवै ओपनर ब्याटरले विष्फोटक कीर्तिमानी ब्याटिङ गरे। ओपनर साना प्रवीनले मात्र ७० बलमा १३ चौकाको मद्दतले अविजित रहँदै सर्वाधिक ९८ रनको योगदान दिइन्। उनी मात्र २ रनले आफ्नो शतक बनाउनबाट चुकिकी थिइन्। त्यस्तै अर्की ओपनर सावित्री धामीले ५३ बलमा १३ चौकाकै मद्दतले अविजित ७८ रनको सानदार अर्धशतकीय गुनिलो इनिङ खेलिन्।
यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई १०५ रनको विशाल अन्तरले पराजित गरेको थियो। अर्कोतर्फ सिङ्गापुर पहिलो खेलमा हङकङसँग ३ विकेटले पराजित भएको थियो। समूह चरणको लगातार दुई खेलमा सानदार जित निकालेको उच्च मनोबल बोकेको नेपाली टोलीले अब समूह चरणको आफ्नो अन्तिम तथा निर्णायक खेलमा मंगलबार हङकङको सामना गर्नेछ।