काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन भोलि (सोमबार) हुँदैछ। अक्सनका लागि १५५ खेलाडी छनोट भएका छन्।
नेपाल क्रिकेट संघ(क्यान)का अनुसार ३४७ जनाले नाम दर्ता गराएका थिए। छनोट भएकामध्ये ५ जना क्याटेगोरी ‘ए’ मा २७ जना क्याटेगोरी ‘बी’ र सर्वाधिक धेरै १२३ जना क्याटेगोरी ‘सी’ मा रहेका छन्।
अक्सनमार्फत ५२ जना खेलाडीमाथि फ्रेन्चाइजले बोली लगाउनेछन्। तेस्रो संस्कणको एनपीएलबाट हरेक फ्रेन्चाइज टीमले दुई–दुई जना नेपाली खेलाडी थप भइ मार्की, ट्यालेन्ट हन्ट समेत गरी कुल १४ जना खेलाडी हरेक टीममा समावेश गरिने क्यानले जनाएको छ।
फ्रेन्चाइजमा सबैभन्दा बढी जनकपुर बोल्ट्सले खर्च गर्न पाउनेछ। जनकपुरसँग ६६ लाख २५ हजार रहेको छ। यस्तै, बिराटनगर किंग्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, कर्णाली याक्स र चितवन राइनोजसँग ४२–४२ लाख तथा सबैभन्दा कम काठमान्डु गोर्खाजसँग ३४ लाख पर्स रहेका छन्।
पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्कणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। सुदूरपश्चिम रोयल्स दुवै संस्कणमा उपविजेतामा सिमित भएको थियो।

