काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले अपसाइट दिएपछि सनसनीपूर्ण खेलमा पोर्चुगल विजयी भएको हो । यो निर्णयपछि मैदानमा केही समय विवादसमेत भएको थियो ।
टोरन्टोमा भएको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेको हो । यो जितसँगै पोर्चुगलले अर्को चरणमा बलियो प्रतिद्वन्द्वी स्पेनसँगको भेट पक्का गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो ।
खेलको ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको पोर्चुगलका लागि ६८ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
प्रशिक्षकको रणनीति खेलको अन्तिम समयमा फलदायी देखियो । ९० मिनेटको नियमित समयपछि थपिएको इन्जुरी समयको चौथो मिनेटमा राफायल लियाओको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै गोन्सालो रामोसले हेडमार्फत सानदार गोल गरे ।
रामोसको सोही गोल नै पोर्चुगलका लागि निर्णायक साबित भयो र क्रोएसिया विश्वकपको यात्राबाट बाहिरिन पुग्यो । अब क्वाटरफाइनल प्रवेशका लागि सोमबार पोर्चुगलले अस्ट्रियालाई हराएर उच्च मनोबलमा रहेको स्पेनको सामना गर्नेछ ।