काठमाडौं । सह–आयोजक क्यानडाले इन्जुरी समयमा गरेको एकमात्र गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा ऐतिहासिक प्रवेश गरेको छ ।
अमेरिकाको लस एन्जलस रंगशालामा गएराति सम्पन्न पहिलो नकआउट खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा थिए। खेल अतिरिक्त समयमा पुग्ने संकेत देखिइरहेका बेला इन्जुरी समयको अन्तिम क्षणमा स्टेफेन युस्टाकियोले निर्णायक गोल गर्दै क्यानडालाई अविस्मरणीय जित दिलाए।
उक्त निर्णायक गोलसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जित्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। उत्कृष्ट प्रदर्शन गरेका स्टेफेन युस्टाकियो खेलको प्लेयर अफ द म्याच घोषित भए।
विश्वकपमा तेस्रो सहभागिता जनाइरहेको क्यानडा यसअघि खेलेका दुवै संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो। यसपटक भने सह–आयोजक टोलीले इतिहास रच्दै उपाधि यात्रालाई निरन्तरता दिएको छ।