काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को अन्तिम खेलमा उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै कंगो डीआरले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
सुरुआतमै गोल खाएर दबाबमा परेको कंगोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन गोल गरेको थियो। यही जितले उसलाई उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बनाउँदै अन्तिम १६ मा पुर्यायो। उज्बेकिस्तानले खेलको १०औं मिनेटमा एल्डोर शोमुरोडोभको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफमा त्यसपछि थप गोल हुन सकेन र उज्बेकिस्तान १–० ले अघि रह्यो। दोस्रो हाफको ६८औं मिनेटमा कंगोले पेनाल्टीको अवसर पायो।
योवान विसाले त्यसलाई सफलतापूर्वक गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। खेलको ७८औं मिनेटमा फिस्टन मायेलेले गोल गर्दै कंगोलाई पहिलो पटक अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित ३–१ मा सुनिश्चित गरे। यस नतिजासँगै कंगो डीआरले तीन खेलबाट ४ अंक जोड्दै समूह ‘के’मा तेस्रो स्थान हासिल गर्यो। उक्त अंक उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरण पुग्न पर्याप्त बन्यो।
५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको कंगो डीआरले पहिलो सहभागितामै नकआउट चरणमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यसै समूहको अर्को खेलमा पोर्चुगल र कोलम्बियाबीच गोलरहित बराबरी भयो। त्यससँगै कोलम्बिया ७ अंकका साथ समूह विजेता बन्यो भने पोर्चुगल ५ अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्यो।