काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले वर्तमान तथा पूर्व खेलाडीहरूसँगको सहकार्यमा नेपाली फुटबलको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त गर्ने सम्पूर्ण सदस्यता अधिकारहरू गुमाएको छ।
निलम्बन कायम रहेसम्म नेपालको राष्ट्रिय टोली तथा क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। यसका साथै फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट एन्फाले प्राप्त गर्दै आएको आर्थिक अनुदान समेत पूर्ण रूपमा रोक्का हुनेछ।
यस्तै, एन्फा वा यससँग आबद्ध कुनै पनि पदाधिकारी तथा सदस्यहरूले फिफा र एएफसीद्वारा सञ्चालन गरिने विकास कार्यक्रम, तालिम वा प्रशिक्षणमा सहभागी हुन पाउने छैनन्। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत संकट समाधानका लागि पहल सुरु भइसकेको बताएका छन्। उनले लेखेका छन्, ‘हामी वर्तमान र पूर्व राष्ट्रिय खेलाडीहरू सहित विभिन्न सरोकारवालाहरूसँग छलफलमा छौं। हामी नेपाली फुटबलको पुनर्निर्माण गर्नेछौं।’