काठमाडौँ । भारतीय चलचित्रका वरिष्ठ अभिनेता राकेश बेदी हिन्दी फिल्म ‘है जवानी तो इश्क होना है’को प्रचार–प्रसारका लागि आइतबार काठमाडौँ आएका छन् । उनको नेपाल भ्रमण चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशको पहलमा आयोजना गरिएको हो ।
नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपमार्फत उनीहरूले नेपाल–भारत चलचित्र सहकार्यलाई थप विस्तार गर्ने काम गर्दै आएका छन् । यही टोली हालै नेपालमा प्रदर्शन भएको फिल्म ‘पेड्डी’सँग पनि आबद्ध रहेको बताइएको छ ।नेपाल बसाइका क्रममा अभिनेता बेदीले काठमाडौँका विभिन्न सिनेमा हलहरूको भ्रमण गर्ने, दर्शक तथा प्रदर्शकहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । साथै, उनले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने तालिका पनि तय गरिएको छ । त्यसैगरी, मण्डला थिएटरमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले ‘है जवानी तो इश्क होना है’ चलचित्रबारे जानकारी दिनेछन् । आयोजकका अनुसार यस भ्रमणले नेपाली र भारतीय चलचित्र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, चलचित्रमार्फत दुवै देशका दर्शकबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्य रहेको जनाइएको छ ।