काठमाडौँ । नेपाली सञ्चार क्षेत्रका दिग्गज व्यक्तित्व, चर्चित पत्रकार तथा लेखक विजय कुमार पाण्डेले पहिलो पटक व्यावसायिक चलचित्र निर्देशन गर्ने भएका छन्। भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका र निर्माण रहने एक सर्वथा नयाँ चलचित्रमार्फत उनले आफ्नो निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन्।
शुक्रबार विजय कुमार र विपिनबीच भएको एक महत्त्वपूर्ण भेटघाटमा चलचित्रमा सहकार्य गर्ने औपचारिक सहमति (मौखिक) भएको हो। हालसम्म नाम तय भइनसकेको यस प्रोजेक्टलाई लिएर सिने वृत्तमा अहिल्यैदेखि ठूलो कौतुहलता पैदा भएको छ।
विजय कुमारसँगको भेट र सहकार्यबारे अभिनेता विपिन कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गरेका छन्। उनले “आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनहरूमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो। भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय कामहरू गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ।“ लेखेका छन् ।
यसअघि केही चर्चित डकुमेन्ट्रीहरू निर्देशन गरिसकेका विजय कुमारले फिक्सन (काल्पनिक) चलचित्रमा हात हाल्न लागेका हुन्। एक वर्षअघि छोरी सारासँगको पोडकास्टमा उनले आफूले एउटा ’फिक्सन’ स्क्रिप्टमा काम गरिरहेको र आगामी दिनमा फिक्सन लेखनमै जोड दिने खुलासा गरेका थिए।
सञ्चार र साहित्यमा आफ्नै छुट्टै छाप छाड्न सफल विजय कुमारको निर्देशकीय दृष्टिकोण र अभिनेता विपिन कार्कीको जीवन्त अभिनयको यो फ्युजन नेपाली सिनेमाका लागि एउटा कोशेढुङ्गा साबित हुन सक्ने अनुमान गरिएको छ।