काठमाडौँ । लेखक तथा निर्देशक युगल पोमोको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जोर ढुंगा’ हङकङमा प्रदर्शन हुने भएको छ। चलचित्रको ग्राण्ड प्रिमियरअघि गत मे ३० मा आयोजित कार्यक्रममा यसको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो।
उक्त कार्यक्रममा आगामी अगस्ट ३०, २०२६ मा हङकङको हुङहम वाम्पोस्थित सानविम सिनेमा हलमा चलचित्रको ग्राण्ड प्रिमियर आयोजना गरिने जानकारी दिइयो। ताप्लेजुङको निगुरादेन आसपासका प्राकृतिक तथा मनमोहक स्थानमा छायांकन गरिएको ‘जोर ढुंगा’ लिम्बु समुदायको परिवेशमा आधारित चलचित्र हो। अंग्रेजी सबटाइटल र स्थानीय भाषाका संवाद समेटिएको चलचित्रले लिम्बु समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ।
वाई के फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जेनेक्स मिडिया र शाहसी डिजिटलको सहकार्य रहेको छ। चलचित्रका निर्माता रमेश लिम्बु, रोमन लावती र योगेश लामा हुन् भने अमेरिकामा रहेका ह्यारी योञ्जन कार्यकारी निर्माताको भूमिकामा छन्। चलचित्रमा प्रतीक थेबे लिम्बु, मौसम इम्बुङ (फुलेन्देको बाउ), पुष्पाञ्जली तिल्लिङ, योगेश लामा, हार्दिक पौडेल, सिद्धार्थ लिम्बु, विष्णु राई तथा मदनकुमारी पोमु लिम्बूको अभिनय रहेको छ। सुरेन्द्र रानाले गीत तथा संवाद लेखन गरेको चलचित्रको निर्माण नियन्त्रक अनिल थोप्रा हुन्। सम्पादन अनिल कुमार महर्जनले गरेका छन् भने छायांकन मोहनकुमार झिल्लुले गरेका हुन्। साथै, दिनेश माङमु प्रोडक्सन डिजाइनर, निश्चल कुलुङ कला निर्देशक, राजेन्द्र मोक्तान कलरिस्ट, जानु आले मेकअप आर्टिस्ट तथा महेश्वर सम्बाहाङ्फे मुख्य सहायक निर्देशकका रूपमा आबद्ध छन्।