काठमाडौँ। जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यसहित राहदानी घरमै पुर्याउने सेवा सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच भएको सम्झौता अनुसार अब सेवाग्राहीको राहदानी हुलाक सेवामार्फत घरमै पुर्याइने व्यवस्था गरिएको हो। पहिलो चरणमा २१ वटा राहदानी सम्बन्धित व्यक्तिको घरमै पुगेर हस्तान्तरण गरिएको छ। दिनेशसागर भुसालले गौर नगरपालिका–२ महादेवपट्टिमा पुगेर सेवाग्राहीहरूलाई राहदानी हस्तान्तरण गर्दै सरकारी सेवा जनताको घरदैलोमै पुर्याउने लक्ष्यअनुसार यो अभियान सुरु गरिएको बताए।
यो सेवा लागू भएपछि सेवाग्राहीलाई प्रशासन कार्यालय धाउनुपर्ने झन्झट कम हुने, साथै समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवका अनुसार घरमै राहदानी प्राप्त गर्न सेवाग्राहीले ५५ रुपैयाँ बराबरको हुलाक शुल्क तिर्नुपर्नेछ। पुराना तथा वितरण हुन बाँकी राहदानीहरू पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत घरमै पुर्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ। यो सेवा विशेषगरी ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका व्यक्तिहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ।