काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि दर्शकको राम्रो साथसहित प्रदर्शन भइरहेको छ। फिल्मले चौथो सातामा १९२ शो पाएको छ भने अधिकांश शो हाउसफुल भएका थिए। प्रदर्शन भइरहेका शोमध्ये ९० प्रतिशतभन्दा बढीमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो।
दर्शकको निरन्तर साथ र उत्साह देखेपछि फिल्मका कलाकार तथा निर्माण टिम हलमै पुगेर दर्शकसँग भेटघाट गरेका छन्। अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा तथा कार्यकारी निर्माता प्रदीप भट्टराईले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया सुनेका थिए। अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकबाट प्राप्त सुझावले आगामी काममा सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार कलाकारले गर्ने काम दर्शककै लागि हुने भएकाले प्रत्यक्ष प्रतिक्रिया लिनु आवश्यक हुन्छ। उनले फिल्म प्रदर्शनका बेला विभिन्न सहर पुगेर दर्शकसँग भेटघाट गर्ने गरेको पनि उल्लेख गरे।
सुरुआती चरणमा केही कानुनी विवाद र आलोचनाको सामना गरे पनि ‘लालीबजार’ले दर्शकको मन जित्न सफल भएको छ। यही कारण हालसम्म प्रदर्शन भएका नेपाली फिल्ममध्ये यो वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको बताइएको छ। फिल्मले हालसम्म झन्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षको दाबी छ। फिल्मप्रति सबै उमेर समूहका दर्शक आकर्षित भएका छन्। विशेषगरी परिवार, आमाको संघर्ष र भावनात्मक कथावस्तुले दर्शकलाई निकै छोएको प्रतिक्रिया आउने गरेको छ। हलबाट बाहिरिने धेरै दर्शकले फिल्मले भावुक बनाएको बताएका छन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्।