काठमाडौँ । निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’ मा दोस्रो अभिनेत्रीको रूपमा निकिता आचार्य अनुबन्धित भएकी छन्। बिहीबार काठमाडौँमा निर्देशक पन्त र निकिताबीच औपचारिक रूपमा लिखित सम्झौता भएको हो। केही दिनअघि मात्र ‘मेरो डान्स युनिभर्स– २’ की विजेता रिश्ता गुरूङलाई फिल्मको मुख्य भूमिकाका लागि भित्र्याइएको थियो भने अब निकिताको पनि इन्ट्री भएको छ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘खेल’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी निकिताको दोस्रो फिल्म ‘श्री बुकुरो’ गत फागुनमा प्रदर्शन भएको थियो। अभिनयका हिसाबले ‘आ बाट आमा २’ उनको तेस्रो फिल्म हुनेछ। उनले रङ्गमञ्चमा समेत ‘यौटा सपनाको अवसान’ नामक नाटक मार्फत आफ्नो अभिनय कौशल देखाइसकेकी छन्।
दशैँको अवसर पारेर आगामी असोज ३० गते (फूलपातीको अघिल्लो दिन) बाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा नेपाली र भारतीय सिनेमाका स्थापित कलाकारहरूको ठुलो लाइनअप रहेको छ । जसमा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, गजित विष्ट, दीलिप ओखेडा, नरेन खड्का, प्रदीप रावत (गज्नी फेम भारतीय भिलेन) र चर्चित स्टोरीटेलर साइग्रेस पोखरेल समेतको अभिनय रहेका छ ।
गत वर्ष प्रदर्शनमा आएर चर्चा कमाएको ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यो फिल्मको कथा पहिलो भाग सकिएको ठाउँबाट अगाडि बढ्ने निर्देशक पन्तले जनाएका छन्। फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन्।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मको छायांकन आगामी जेठ १८ गते देखि सुरु हुँदैछ। फिल्मको कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरमा करण सिंह रहेका छन्।