काठमाडौँ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ को फस्र्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सार्वजनिक फस्र्ट लुक भिडियो अनुसार यो फिल्म यही वर्षको तिहारमा प्रदर्शन हुने तय भएको छ।
फिल्मको सार्वजनिक सामग्रीले दर्शकमाझ कौतूहलता जगाएको छ। विशेष गरी अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको निकै फरक, चतुर र रोचक अवतारमा प्रस्तुत गरिएको छ। भिडियोको पृष्ठभूमिमा “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ” र लगत्तै पुन्यको “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” भन्ने संवादले उनी गाउँका टाठाबाठा जनप्रतिनिधि हुन् भन्ने प्रस्ट्याउँछ।
बाक्लो जुँगा, चस्मा, ढाका टोपी र सुटमा सजिएका विजय बरालको एउटा दृश्य निकै प्रतीकात्मक छ। ‘पुन्य चौलागाई वडा अध्यक्ष’ लेखिएको नेमप्लेट अगाडि बसेर उनले पैसाको लेनदेन गरिरहेका छन्, तर उनको पछाडि भित्तामा भने ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको बोर्ड टाँसिएको छ। यसले नेपाली राजनीतिको यथार्थ र नेताहरूको दोहोरो चरित्रमाथि ’डार्क कमेडी’ मार्फत कसिलो व्यङ्ग्य प्रहार गरेको सङ्केत गर्छ।
फिल्मको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँको परिवेशमा आधारित छ। गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न एउटा ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूलाई फिल्ममा देखाइनेछ। भिडियोमा गाउँलेहरूले पहाडी बाटोमा बोकेको ठुलो काठको बाकसभित्र त्यही ‘डीप फ्रिज’ रहेको अनुमान गर्न सकिन्छ।
यसअघि हिट फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेको जोडी सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशन एवं पटकथा यसमा रहेको छ। कास्कीको धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका स्थानमा छायांकन गरिएको यस फिल्ममा विजय बरालका साथै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइली लगायतको अभिनय छ।
मोती कार्की कार्यकारी निर्माता रहेको फिल्मलाई निशाल पौडेलले खिचेका हुन् भने चानस पुन मगरको सम्पादन र अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ। काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसनले फिल्म वितरण गर्नेछन्। तिहारको विदामा यस फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ।
https://www.youtube.com/watch?v=HkXgCX5j75o&t=1s