काठमडौँ। अभिनेत्री वर्षा शिवाकोटी नयाँ चलचित्र ‘गंगारानी’ मा अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत गर्दै फिल्मको पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा वर्षा रातो पहिरनमा आत्मविश्वासी र आकर्षक अवतारमा देखिएकी छन्।
पोस्टरमा उनको भावभंगीले फिल्ममा प्रेम, रहस्य र संघर्षको कथा समेटिएको संकेत गर्छ। त्यसैगरी पोस्टरमा एक पुरुषको कालो छायाँ पनि देखाइएको छ, जसले कथामा रहस्यमय पात्र वा गहिरो सम्बन्ध रहेको अनुमान गराइएको छ। तर उक्त पात्रको परिचय भने खुलाइएको छैन। आहा फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् भने लेखन तथा निर्देशन राजबहादुर सानेले गर्नेछन्। निर्माण टिमले मुख्य कलाकारका लागि कास्टिङ कल पनि आह्वान गरेको छ, जसअन्तर्गत ४ महिला र ४ पुरुष कलाकार छनोट गरिनेछ। आवेदन दिनको उमेर सीमा महिलाका लागि १८ देखि ३५ वर्ष र पुरुषका लागि २० देखि ४० वर्ष तोकिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २० सम्म रहेको छ। निर्देशक सानेले यसअघि ‘बुलाकी’ लगायतका चर्चित फिल्महरूमा लेखन तथा निर्देशन गरिसकेका छन्। उनले ‘बुलाकी’ बाट उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका थिए।