काठमाडौँ । विसं २०८३ मा प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये हालसम्म सबैभन्दा बढी कमाइ गर्ने फिल्म ‘लालीबजार’ बनेको छ । चलचित्र विकास बोर्डको ‘सिनेमा बक्सअफिस’ तथ्यांकअनुसार जेठ ९ गते शनिबारसम्म यो फिल्मले घरेलु बजारमा कुल ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ कमाइ गरेको छ ।
सो अवधिसम्म करिब १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएको बोर्डले जनाएको छ । कार्यकारी निर्माता प्रदीप भट्टराईका अनुसार फिल्म हेर्न हालसम्म २ लाखभन्दा बढी दर्शक पुगेका छन् । उनले बोर्डको तथ्यांक पछिल्लो शनिबारसम्म मात्र भएको भन्दै फिल्मको प्रदर्शन अझै जारी रहेको जानकारी दिए । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्म तेस्रो सातामा पनि राम्रो दर्शक उपस्थिति सहित चलिरहेको छ ।
निर्माण टिमका अनुसार फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । धेरै दर्शकले फिल्म भावनात्मक रूपमा आफूलाई छोएको प्रतिक्रिया दिएका छन् । निर्देशक यम थापाको निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा लगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मका निर्माता र टिमले आगामी दिनमा विदेश (डायस्पोरा)मा समेत प्रदर्शन गर्ने तयारी गरेको जानकारी दिएका छन् ।