काठमाडौँ । नेपाली चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ। निर्माण टिमले छायांकन सम्पन्न भएको अवसरमा ‘इन्डक्ल्याप’ लेखिएको केक काटेर खुसी साटेको छ।
निर्देशक वसन्त निरौला का अनुसार चैत २ गतेबाट सुरु गरिएको छायांकन ६६ दिनमा पूरा गरिएको हो। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा नेपाली फिल्म क्षेत्रका वरिष्ठ तथा नयाँ पुस्ताका कलाकारहरूको अभिनय रहनेछ। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा देखिनेछन्। त्यसैगरी दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार लगायतका कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रका लेखक सुशील पौडेल का अनुसार फिल्मले महाभारतका पाँच पाण्डवको प्रतीकात्मक प्रस्तुतीमार्फत समकालीन नेपाली समाजको कथा उजागर गर्नेछ। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्। फिल्मका अधिकांश दृश्य झापाका विभिन्न रमणीय स्थानमा खिचिएका छन्। चलचित्रको कथा, पटकथा र संवाद सुशील पौडेलले तयार पारेका हुन् भने छायांकन श्याम तामाङ ले गरेका छन्।