काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको अभिनय रहेको प्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ। ६६ दिन लामो निरन्तर कार्यपछि निर्माण टिमले छायांकनको प्याकअप लेखिएको केक काट्दै सेलिब्रेसन गरेको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको सुटिङ गत चैत २ गतेबाट सुरु भएको थियो। चलचित्रका अधिकांश दृश्यहरू झापाका रमणीय तथा महत्त्वपूर्ण स्थानहरूमा खिचिएको निर्देशक वसन्त निरौलाले जानकारी दिएका छन्। चलचित्र ‘पाँच पाण्डव’ एउटा स्तरीय सामाजिक कथावस्तु (सोसल ड्रामा) मा आधारित सिनेमा भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन्। उनका अनुसार यस चलचित्रले पौराणिक ग्रन्थ महाभारतका पाँच पाण्डवका चरित्र र विम्बहरूलाई कलात्मक रूपमा प्रयोग गर्दै समकालीन नेपाली समाजको जीवन्त कथालाई पर्दामा प्रस्तुत गर्नेछ।
चलचित्रमा नेपाली सिनेमा जगतका स्थापित तथा लोकप्रिय कलाकारहरूको बलियो उपस्थिति रहनेछ। मुख्य भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला लगाएतका कलाकार रहेका छन् । यसका साथै चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरी लगायतका कलाकारहरूको समेत सशक्त अभिनय रहने निर्माण पक्षले जनाएको छ।
चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन् भने यसलाई श्याम तामाङले क्यामरामा कैद (छायांकन) गरेका हुन्। चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरेकी हुन् भने निर्देशनको कमाण्ड वसन्त निरौलाले सम्हालेका छन्। छायांकन सकिएसँगै अब चलचित्रको पोस्ट–प्रोडक्सन (सम्पादन, मिक्सिङ र डबिङ) को काम तीव्र रूपमा अघि बढ्नेछ।