काठमाडौँ । गायक सविन श्रेष्ठको नयाँ गीत ‘कल्पना’ सार्वजनिक गरिएको छ। गीतको प्रिमियरमार्फत सार्वजनिक गरिएको हो।
गीतमा स्वर, शब्द तथा संगीत सबै सविन श्रेष्ठकै रहेको छ। गीतले बितिसकेको प्रेमको सम्झना र त्यससँग जोडिएका भावनात्मक अनुभूतिलाई प्रस्तुत गरेको छ। पुराना स्मृतिहरूलाई समेट्दै गीतले प्रेमिकाले छोडे पनि अझै पनि त्यो सम्बन्धलाई निश्चल रूपमा सम्झिने भाव व्यक्त गरेको छ। विगतका योजना र कल्पनामा अझै बाँचिरहेको अनुभूति गीतमार्फत प्रस्तुत गरिएको छ। गीतको प्रिमियर कार्यक्रममा सविन श्रेष्ठले आफ्नो सिर्जना केवल गीत नभई मनका गहिरा भावना भएको बताए। उनले व्यक्तिगत जीवनका अनुभव, पीडा र भावनालाई गीतमार्फत व्यक्त गर्ने गरेको उल्लेख गरे।
म्युजिक भिडियोका मोडल सुजन जिम्बा ले सविन आफ्नो लागि प्रेरणाको स्रोत भएको बताएका छन्। भिडियोका निर्देशक तथा कलाकार सम्राट अधिकारी ले ‘कल्पना’ गीतलाई दृश्य माध्यममार्फत जीवन्त बनाउने प्रयास गरिएको बताए। भिडियो दिमेश श्रेष्ठको निर्माणमा कथा क्रिएसनमार्फत तयार पारिएको हो। भिडियोमा सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको अभिनय रहेको छ। छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन्। नुजा पिक्चर्सको प्रस्तुति रहेको यो भिडियोले प्रेम र स्मृतिको भावनात्मक कथा प्रस्तुत गरेको छ।