काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ मा चलचित्र ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित हुँदै सर्वाधिक अवार्ड जित्न सफल भएको छ ।
महोत्सवमा सोही चलचित्रबाट अभिनेता विपिन कार्कीले उत्कृष्ट अभिनेता र निर्देशक नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । त्यस्तै चलचित्र ‘जेरी अन टप’ बाट अभिनेत्री जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ । कर्णाली अडिसन अवार्ड (निर्देशक) राजबहादुर सानेले प्राप्त गरेका छन् । उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले जितेका छन् भने उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ ले पाएको छ । यसैगरी ‘कर्णाली भिजनरी अवार्ड’ बाट चलचित्र ‘प्रेम गीत २’ का निर्माता सन्तोष सेन सम्मानित भएका छन् ।
अवार्ड प्राप्त गरेपछि अभिनेत्री जसिता गुरुङले आफ्नो पहिलो अवार्ड दर्शकप्रति समर्पण गरेकी छन् भने पल शाहले यस सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको बताएका छन् । निर्देशक नवीन चौहानले पहिलो चलचित्रमै उत्कृष्ट निर्देशकको अवार्ड पाउनु आफ्नो लागि ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् । महोत्सवका क्रममा नेपाली चलचित्र इतिहास, अवार्ड परम्परा तथा चलचित्र र पर्यटनबीचको सम्बन्धबारे विशेष संवाद तथा छलफल पनि गरिएको थियो । आयोजकले कर्णाली क्षेत्रको कला, संस्कृति र पर्यटनलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको जनाएको छ ।