काठमाडौं । टिकटक स्टार तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझीको मुख्य अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘बेहुली’को छायांकन सम्पन्न भएको छ। बिहीबार चलचित्रको अन्तिम दृश्य खिचिएसँगै लगातार ४५ दिन लगाएर यसको प्रमुख छायांकन पूरा गरिएको हो। निर्माण पक्षका अनुसार चलचित्रका दुईवटा विशेष गीतहरू भने पछि खिच्ने गरी बाँकी राखिएको छ। निर्माण टोलीले छायांकन सकिएसँगै चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरेको छ, जसअनुसार यो चलचित्र आगामी भदौ १२ गते जनै पूर्णिमाको अवसर पारेर देशभरका सिनेमाघरहरूमा रिलिज हुनेछ।
चर्चित चलचित्र ‘होस्टेल ३’का निर्देशक सशान कँडेलको निर्देशनमा तयार भएको यस चलचित्रमा पारस र दिव्याका साथै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ र समायरा थापा मगर लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। पर्दामा पहिलो पटक पारस र दिव्याको जोडी बाँधिएकाले पनि यस चलचित्रलाई लिएर दर्शकमाझ निकै उत्सुकता र कौतूहल देखिएको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत विगत दुई दशकदेखि नेपाली सङ्गीत आकाशमा अनेकौँ कालजयी गीतहरू दिइसकेका वरिष्ठ संगीतकार अर्जुन पोखरेलले चलचित्र निर्माणमा डेब्यु गरेका हुन ।
माधव शर्माको लेखन रहेको यस चलचित्रको कार्यकारी निर्मातामा सुमन थिङ तामाङ हुन, भने सह–निर्माताको भूमिकामा गायिका दुर्गा खरेल र रमेश सिलवाल रहेका छन् । त्यस्तै, शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन् । यो चलचित्रलाई स्थापित सिनेमाटोग्राफर नरेन्द्र मैनालीले क्यामरामा, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको ‘बेहुली’को सम्पादनको जिम्मेवारी विकास दाहाल लिएका छन् ।