काठमाडौँ । नेपाली फिल्म ‘काजी’ यही जेठ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अग्रिम टिकट बुकिङ खुला भएसँगै देशभरका मल्टिप्लेक्स हलमा फिल्मप्रति दर्शकको आकर्षण बढेको निर्माण पक्षले जनाएको छ।
ट्रेलर र गीत सार्वजनिक भएपछि दर्शकमाझ उत्साह थपिएको र शो खुल्ने बित्तिकै टिकट बुकिङ भइरहेको बताइएको छ। अनलाइन प्लेटफर्म तथा हलका वेबसाइटमार्फत पनि दर्शकले टिकट खरिद गरिरहेका छन्। निर्माता रामप्रसाद रिजालका अनुसार फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया र चासोले टिम उत्साहित बनेको छ। उनले फिल्ममा प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको बताए। अभिनेता विपिन कार्कीले पनि ‘काजी’ फरक शैलीको प्रेमकथामा आधारित फिल्म भएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्। लक्ष्मण रिजाल निर्देशित फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायत कलाकारको अभिनय रहेको छ। फिल्म श्रीमान–श्रीमतीबीचको सम्बन्ध र भावनात्मक कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।