काठमाडौँ । प्रदर्शनको दोस्रो सातामा रहेको नेपाली फिल्म लालीबजार ले दर्शकसँगै चलचित्रकर्मीबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विशेष प्रदर्शनीमा सहभागी कलाकार तथा निर्देशकहरूले फिल्मको कथा, अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्।
सोमबार साँझ काठमाडौंस्थित जय नेपाल हल मा आयोजित विशेष प्रदर्शनपछि अभिनेता तथा निर्देशक नीर शाह ले फिल्मलाई वर्षौंसम्म सम्झिरहने सिर्जनाको संज्ञा दिए। उनले नेपाली समाज र परिवेशमा आधारित कथा प्रभावशाली ढंगले प्रस्तुत गरिएको बताए। उनले अभिनेत्री स्वस्तिमा खड्का को अभिनयलाई करिअरकै उत्कृष्टमध्ये एक भएको उल्लेख गर्दै आगामी दिनमा उनको प्रतिस्पर्धा आफ्नै कामसँग हुने बताए। साथै नवअभिनेता विशाल देवकोटा र प्रशंसा सुवेदी ले पनि प्रभावशाली अभिनय गरेको प्रतिक्रिया दिए। अभिनेत्री प्रियंका कार्की ले फिल्मको कथा र कलाकारहरूको अभिनयले दर्शकलाई अन्त्यसम्म बाँधेर राख्ने बताइन्। उनका अनुसार फिल्मको पटकथा सहज रूपमा अघि बढ्छ र क्लाइमेक्स अझै प्रभावशाली बनेको छ। त्यस्तै अभिनेत्री वर्षा राउत ले निर्माण टिम षट्कोण आट्र्स ले दर्शकको चाहना बुझेर काम गर्ने गरेको बताइन्।
सामाजिक विषयवस्तुलाई प्रभावकारी रूपमा फिल्ममा उतारिएको भन्दै उनले फिल्म नछुटाउन आग्रह गरिन्। अभिनेता आयुष्मान डीएस जोशी ले पनि स्वस्तिमा खड्काको अभिनयलाई अघिल्ला फिल्मभन्दा अझ सशक्त रहेको प्रतिक्रिया दिए। फिल्मको चर्चित गीत ‘मायालाई के दिउँ म बैना’ का गायक तथा संगीतकार खेम सेन्चुरी ले फिल्म भावनात्मक रूपमा निकै शक्तिशाली बनेको बताए। उनका अनुसार आमाको माया र संघर्षलाई फिल्मले प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र चलचित्रकर्मीबाट प्राप्त भइरहेको सकारात्मक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताइन्।
उनले काठमाडौंसँगै मोफसलका विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट भइरहेको जानकारी दिइन्। यसअघि नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवन र पोखरामा पनि टिमले दर्शकसँग अन्तरक्रिया गरिसकेको छ। फिल्मको ट्रेलर अहिले युट्युबको चलचित्र श्रेणीमा शीर्ष स्थानमा रहेको बताइएको छ। यसले फिल्मप्रति दर्शकको चासो बढ्दै गएको संकेत गरेको निर्माण टिमको भनाइ छ। लालीबजार मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका हुन्। फिल्मको निर्देशन यम थापा ले गरेका हुन् भने कथा, पटकथा र संवादमा निर्देशक थापा तथा प्रदीप भट्टराई को सहकार्य रहेको छ।