काठमाडौँ । अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता तथा गायक सोनम तोप्देनको मुख्य भूमिका रहेको प्रतिक्षित नेपाली चलचित्र ‘जलाकी’को सम्पूर्ण छायांकन सकिएको छ। गत शनिबार पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा फिल्मको अन्तिम सिन (दृश्य) खिचिएसँगै ३९ दिन लामो छायांकन तालिका पूरा भएको हो। सुटिङको अन्तिम दिन पोखरामा मुख्य कलाकार उपासना र सोनमलाई फिचरिङ गर्दै एक रोमान्टिक गीतको आकर्षक दृश्य छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। पोखरामा सुटिङ सुरु हुनुअघि फिल्म युनिटले बागलुङ, रुकुम, रोल्पा र म्याग्दीका रमणीय तथा विकट क्षेत्रहरू पुगेर महत्त्वपूर्ण दृश्यहरू क्यामेरामा कैद गरेको थियो।
छायांकनको कार्यतालिका सकिएसँगै चलचित्रको प्राविधिक टोली काठमाडौँ फर्किएर तीव्र रूपमा पोस्ट प्रोडक्सन (सम्पादन, कलर ग्रेडिङ तथा डबिङ) को काममा जुटिसकेको छ। चलचित्रका निर्देशक अशोक थापा मगरका अनुसार अबको केही दिनभित्रै ‘जलाकी’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिने तयारी भइरहेको छ भने पोस्टर सार्वजनिक गरेकै दिन चलचित्रको आधिकारिक प्रदर्शन मिति समेत घोषणा गरिनेछ। निर्देशक थापा मगरले चलचित्रलाई प्राविधिक रूपमा उत्कृष्ट बनाएर यसै चालु वर्षभित्रै दर्शकमाझ प्रदर्शनमा ल्याउने बताइएको छ ।
विशुद्ध त्रिकोणात्मक प्रेमकथा मा आधारित भई निर्माण गरिएको यस चलचित्रमा उपासना र सोनमका साथै स्थापित अभिनेत्री शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, साहारा हाङमा लिम्बू, अस्तित्व भट्टचन, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा र भावना मगर लगायतका कलाकारहरूको दमदार अभिनय हेर्न पाइनेछ। यसका साथै वरिष्ठ अभिनेता विजय लामालाई फिल्ममा विशेष भूमिकामा देख्न सकिनेछ। यसअघि व्यावसायिक रूपमा सफल चलचित्र ‘खुस्मा’ निर्माण गरेको कम्पनी एम मिडिया प्रालिको ब्यानरमा यो फिल्म बनेको हो। चलचित्रको शाब्दिक अर्थ ‘झलक’ वा ‘सम्झना’ हुने र यसमा शैलेन्द्र डी कार्कीको छायांकन तथा एसडी योगी र सरित राईको कर्णप्रिय संगीत रहने भएकाले पनि यो फिल्मलाई यस वर्षको बहुप्रतिक्षित सूचीमा राखिएको छ।