भक्तपुर । भक्तपुरको मध्यपुरथिमिस्थित बोडेमा बुधबार प्रसिद्ध ’जिब्रो छेड्ने जात्रा’ भव्य रूपमा मनाइएको छ। यस वर्ष स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुर्खादेखि चलिआएको परम्परालाई निरन्तरता दिएका छन् ।
बिहानैदेखि धार्मिक विधिअनुसार पूजाआजा गरेपछि पाँचो गणेशको प्राङ्गणमा रहेको मञ्चमा हजारौँ जात्रालुको अगाडि सुजन बागले जिब्रो छेडाएका हुन । महिना दिनअघिदेखि तेलमा डुबाइराखेको १० इन्च लामो फलामे सुइरोले नाइकेहरूले उनको जिब्रो छेडेका थिए ।
जिब्रो छेडेपछि उनले अर्धचन्द्राकारको ’भ्वाय्’ (महाद्वीप) काँधमा बोकेर बोडेका विभिन्न टोलहरूको परम्परागत मार्ग परिक्रमा गरेका थिए । परिक्रमापश्चात् भाँगु टोलस्थित महालक्ष्मी मन्दिरमा पुगेर सुइरो निकालेर मन्दिरमा ठोकेपछि जात्राको औपचारिक विसर्जन भएको थियो।
यो जात्राका लागि जिब्रो छेड्ने व्यक्ति चैत मसान्तदेखि नै निराहार व्रत बस्नुपर्ने र कसैसँग बोल्न नहुने कडा नियम रहेको छ। दैवी शक्ति र तान्त्रिक विधिमा आधारित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित मानिन्छ।
किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत र पिशाचहरूले स्थानीयलाई निकै दुःख दिने गर्थे। सो दुःखबाट मुक्ति दिलाउन तान्त्रिक भीमदत्तले आफ्नो विद्या प्रयोग गरी पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर नगर घुमाएका थिए। त्यही समयदेखि नै यो जात्रा मनाइँदै आएको जनविश्वास छ।
स्थानीय संस्कृति र साहसको प्रतीक मानिने यो जात्रा हेर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन र पर्यटक बोडे पुगेका थिए।