भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा बुधबार बिस्केट जात्राको मुख्य आकर्षण मानिने सिन्दूर जात्रा अर्थात् ‘सुथः सिया’ जात्रा हर्षोल्लासका साथ मनाइएको छ। थिमिमा मात्रै विशेष रूपमा मनाइने यो जात्रामा स्थानीय बासिन्दाले एक–अर्कालाई सिन्दूर दलेर र अबिर बर्साएर खुसी साटासाट गरेका छन्।
बिस्केट जात्राको अवसरमा मनाइने यो जात्राको सुरुवात बुधबार बिहानै बालकुमारी र कालिका (बालाखु) को खट बालकुमारी मन्दिरबाट बाहिर निकालेपछि भएको थियो। सिद्धिकालीको खटलाई आफ्ना गणहरूसहित बालकुमारी मन्दिरमा प्रवेश गराएपछि जात्राले औपचारिक रूप लिएको हो।
जात्राका क्रममा ’पमा’हरूले हातहातमा चिराक (बत्ती) लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेका थिए। त्यसपछि देवगणका खटहरूलाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो।
थिमिको यो प्रसिद्ध जात्रामा बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही लगायतका विभिन्न देवदेवीका खटहरू सहभागी गराइएको थियो।
मध्यपुर ठिमीको सबैभन्दा ठूलो मानिने यस जात्रामा बालकदेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता रहेको थियो। एक–अर्कालाई सिन्दूर दल्ने र रमाइलो गर्ने भएकाले यसलाई ’सिन्दूर जात्रा’ भनिएको हो। यो जात्राले स्थानीय समुदायमा आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।