काठमाडौँ। जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई सहयोग गर्ने बहानामा अवैध रूपमा रकम असुल गर्ने बिचौलियाहरूलाई प्रवेश निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ कि जिल्लाभरिका सरकारी कार्यालयहरूको वरिपरि र भित्र प्रवेश गरी सेवाग्राहीलाई ‘सहयोग र सहजीकरण’ गर्ने नाममा गैरकानूनी रकम असुल गर्ने कार्य भइरहेको थियो। सूचनामा भनिएको छ, “सरकारी कार्यालय वरिपरि तथा भित्र प्रवेश गरी सेवाग्राहीलाई सहयोग वा सहजीकरण गर्ने बहानामा गैरकानूनी रकम असुल गर्ने व्यक्तिहरूलाई प्रवेशमा निषेध गरिएको छ।”प्रशासनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू फेला परे कडा कानूनी कारबाही गरिने चेतावनी दिएको छ। सेवाग्राहीलाई ठगीबाट बचाउन र सरकारी कामलाई थप पारदर्शी बनाउन यो निर्णय लिइएको प्रशासनले जनाएको छ।