काठमाडौँ। सर्लाहीको गोडैता नगरपालिका–५, रामवन क्षेत्रमा आँपको रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन्।
प्रहरीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार दुवै किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।