काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित गुम्बाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक किशोरीको ज्यान गएको छ। हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा अनियन्त्रित भई सोही क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बिहान प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम सडकखण्डमा ठोक्किएका थिए। ठक्करपछि ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ की १८ वर्षीया एकता बैद्य अनियन्त्रित भई सिमेन्ट बोकेर वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किन पुगेकी थिइन्। गम्भीर घाइते भएकी बैद्यलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा दिउँसो १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–४ का १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकलका चालक चितवन इच्छाकामना–५ का २१ वर्षीय पुष्पालाल गुरुङ मध्यम घाइते भएका छन्। दुवै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक र ट्रक चालक बाँके कोहलपुरका ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।