काठमाडौँ। संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्यांकरमाथि आक्रमण भएको छ। घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव देखिँदै कच्चा तेलको मूल्य वृद्धि भएको छ।
कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार ‘अल–सल्मी’ नामक ट्यांकर अङ्करेज क्षेत्रमा रहँदा लक्षित आक्रमणमा परेको हो। घटनाका बेला जहाज कच्चा तेलले पूर्णरूपमा भरिएको थियो। आक्रमणका कारण ट्यांकरमा क्षति पुगेको छ भने सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा जहाजमा आगलागी भएको देखिन्छ। यद्यपि, मानवीय क्षतिको भने कुनै पुष्टि भएको छैन। कुवेत पेट्रोलियम कर्पोरेसनले घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई आपराधिक गतिविधि भनेको छ। साथै, समुद्रमा तेल चुहावटको जोखिम रहेकोतर्फ पनि ध्यानाकर्षण गराएको छ। दुबई मिडिया अफिसका अनुसार आगो नियन्त्रणका लागि समुद्री अग्निनियन्त्रक टोली परिचालन गरिएको छ। प्रारम्भिक विवरणअनुसार ड्रोनमार्फत आक्रमण भएको आशंका गरिएको छ र अवस्थालाई नियन्त्रणमा लिन आवश्यक कदमहरू चालिएका छन्।
यस्तै, बेलायती सेनासँग सम्बद्ध युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेशन्सले पनि घटना पुष्टि गर्दै जहाज दुबईबाट करिब ३१ नटिकल माइल उत्तर–पश्चिममा रहेको बेला आक्रमणमा परेको जनाएको छ। हालसम्म वातावरणीय क्षतिबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन। यो घटना हालै खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुज आसपास व्यापारी जहाजमाथि भइरहेका आक्रमणहरूको निरन्तरता मानिएको छ। विशेषगरी अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता यस्तो गतिविधि बढ्दो क्रममा देखिएको छ। घटनापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको छ। ‘ब्लूमबर्ग’का अनुसार अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट डब्ल्यू.टी.आई. ३.४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ डलर नाघेको छ। सोमबार मात्रै उक्त सूचक सन् २०२२ पछिकै पहिलो पटक १०० डलर पार गरेको थियो।