काठमाडौँ । अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थितिलाई थप विस्तार गरेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ तैनाथ अमेरिकी सैनिकको संख्या करिब ५० हजार पुगेको छ।
इरानसँगको द्वन्द्व अपेक्षाभन्दा लामो समयसम्म जारी रहेपछि अमेरिकाले थप सैनिक पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सामान्य अवस्थामा करिब ४० हजार सैनिक रहने क्षेत्रमा हाल थप १० हजारभन्दा बढी सेना पठाइएको बताइएको छ। हालै जापान र अमेरिकाको पश्चिमी किनारबाट हजारौं मरिन (समुद्री सैनिक) मध्यपूर्वमा खटाइएको छ। साथै, ८२औं एयरबोर्न डिभिजनका सैनिकहरू पनि त्यहाँ परिचालन गरिएका छन्, जो छिटो प्रतिक्रिया दिने विशेष बलका रूपमा चिनिन्छन्। मध्यपूर्वमा अमेरिकाका कतार, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, इराक र जोर्डनलगायत देशमा सैन्य अड्डा रहेका छन्।
कतारस्थित ‘अल उदैद एयर बेस’ अमेरिकी सैन्य गतिविधिको मुख्य केन्द्र मानिन्छ भने बहराइनस्थित ‘फिफ्थ फ्लिट’ले नौसैनिक कमाण्ड सम्हालिरहेको छ। यसैबीच, इरानको रणनीतिक महत्वको खर्ग टापुलाई लक्षित गरेर अमेरिकी तयारी भइरहेको अनुमान गरिएको छ। उक्त टापु इरानको तेल निर्यातको मुख्य केन्द्र भएकाले यसको नियन्त्रणले इरानको अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहमतिमा ल्याउन विभिन्न विकल्प खुला रहेको बताएका छन्। उनले आवश्यक परे थप कदम चाल्न सकिने संकेत गरेका छन्। यता, इरानले भने सम्भावित अमेरिकी आक्रमणको कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ। इरानी नेतृत्वले कुनै पनि आक्रमण भए कडा जवाफ दिने बताउँदै आएको छ।