काठमाडौँ । शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थामा रहेको हिउँदे बालीमा ठूलो क्षति पुर्याएको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले गहुँ, जौ, केराउ, तोरी लगायतका बाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय कृषकहरूले जानकारी दिएका छन्।
तीन घण्टा लगातार परेको असिना एक फिटसम्म बाक्लो भएर जम्दा बाली नष्ट भएको हो। साथै सुन्तला, कागती जस्ता फलफूलका बिरुवाहरूमा पनि क्षति पुगेको छ। स्थानीयले वडा नम्बर १, २ र ३ मा क्षति सबैभन्दा धेरै भएको बताएका छन्। कृषकहरू भविष्यमा खाद्यान्न अभावको जोखिम बढ्ने भन्दै चिन्तित छन्। स्थानीय मदन सापकोटाले भने,राम्रो उत्पादनको अपेक्षा गरिएको बाली नष्ट भए पनि क्षतिको यकिन हुन सरकारी मूल्याङ्कन आवश्यक छ। स्थानीयहरूले तत्काल स्थलगत अध्ययन, क्षतिको मूल्याङ्कन र राहत वितरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग गरेका छन्।