काठमाडौँ। खाना खाने क्रममा घाँटीमा मासुको टुक्रा अड्किँदा डोटीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीका ५० वर्षीय काले नेपालीको मासु खाँदै गर्दा घाँटीमा चोक्टा अड्किएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा अचानक मासुको टुक्रा घाँटीमा अड्किँदा उनी बेहोस भएका थिए। घटनापछि परिवारजनले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्याएका थिए। तर चिकित्सकले उनलाई अस्पताल पुगेपछि मृत घोषणा गरेका थिए। प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलले घटनाबारे जानकारी दिँदै यस प्रकारका घटनाबाट जोगिन खाना खाँदा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।