काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रौतहटको गरुडा नगरपालिकास्थित नमुना माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
बैंकको गरुडा शाखाले विद्यालयमा अध्ययनरत करिब १२ सय छात्राहरूको स्वास्थ्य र रजस्वला स्वच्छतालाई ध्यानमा राख्दै ‘स्यानिटरी प्याड भेन्डिङ’ र ‘स्यानिटरी प्याड डिस्पोज’ मेसिन हस्तान्तरण गरेको हो। विशेष कार्यक्रमका बीच बैंकका गरुडा शाखा प्रबन्धक सुबोध कोइरालाले विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेललाई मेसिनहरू हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले समाजका विभिन्न संघ–संस्थाहरूले यस्तो सहकार्य गर्दा नगरको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले बैंकको पहलको प्रशंसा गर्दै अन्य संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्वमा जोडिन आग्रह गरे।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सन्तोष साहले विद्यालयको अनुरोध स्वीकार गरी सहयोग गरेकामा बैंकप्रति आभार व्यक्त गरे। नगरपालिकाका शिक्षा शाखा प्रमुख सरोज गौतमले विद्यार्थीहरूलाई आफ्ना केही समय समाजसेवामा समर्पित गर्न सुझाएका छन्। प्रधानाध्यापक पटेलले भने कि स्यानिटरी प्याड मेसिनको उपलब्धताले छात्राहरू महिनावारीका समयमा विद्यालय अनुपस्थित हुने समस्या कम हुनेछ। बैंकका शाखा प्रमुख कोइरालाले बैंक केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक उत्तरदायित्वप्रति पनि गम्भीर रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूलाई डिजिटल प्रविधिबाट हुन सक्ने ठगीबाट बच्न र अभिभावकलाई सचेत गराउन आग्रह गरे। ‘निरन्तर सहयात्रा’को नाराका साथ अघि बढिरहेको लुम्बिनी विकास बैंकका हाल देशभर सातै प्रदेशमा ८९ शाखा र १ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।