काठमाडौँ। सुर्खेतकी इनिशा विक को हत्या प्रकरणमा ढिलासुस्ती भइरहेको भन्दै संघर्ष समितिले तीव्र असन्तुष्टि जनाएको छ। न्याय नपाएसम्म शव नउठाउने चेतावनीसमेत दिइएको छ। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्यहरूले घटनाको किटानी जाहेरीसमेत लिन अस्वीकार गरिएको र दोषीलाई जोगाउने प्रयास भएको आरोप लगाए।
उनीहरूका अनुसार दोषीलाई कारबाही गर्न नसक्नु राज्यको असफलताको संकेत हो, जसका कारण पीडित परिवारले सडक संघर्ष गर्नुपरेको छ। अभियन्ता जीवन तिरुवा ले महिलामाथि हुने हिंसाका घटनामा न्याय सुनिश्चित गर्न निरन्तर आन्दोलन आवश्यक रहेको बताए। “इनिशाले न्याय नपाएसम्म शव उठ्दैन,” उनले स्पष्ट पारे। समितिले राज्यबाट ठोस जवाफ नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ। साथै, इनिशा विकसँगै अन्य पीडितहरू–जस्तै रश्मिका परियार लगायतका घटनामा पनि न्याय नपाएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ। कार्यक्रममा बोल्दै सविना सिंह ठकुरी ले १७ दिनदेखि निरन्तर आन्दोलनमा रहेको उल्लेख गर्दै अहिलेसम्म न्यायको अनुभूति हुन नसकेको बताइन्।
उनले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिइन्। उनले काठमाडौं महानगरका मेयर बालेन शाह ले पनि यस विषयमा ध्यान दिनुपर्ने बताउँदै, भावी नेतृत्वले महिला हिंसाका घटनामा कस्तो कदम चाल्छ भन्ने नजिकबाट नियाल्ने धारणा राखिन्। समितिले छानबिनमा खटिएका एसपी सुधीरराज शाही को राजीनामासमेत माग गरेको छ। निष्पक्ष अनुसन्धान नभएको आरोप लगाउँदै उनीहरूले महिला आयोगका अध्यक्षको राजीनामासमेत माग गरेका छन्। भोलि चैत १३ गतेदेखि मौन आन्दोलन सुरु गर्ने घोषणा गर्दै, बलात्कारपछि हत्या जस्ता घटनामा कडा अनुसन्धान र दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।