काठमाडौँ । संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक अवस्थाबाट गुज्रिरहेको बताएका छन्। विशेषगरी मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको द्वन्द्वले सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर पार्दै यसको प्रभाव विश्वव्यापी रूपमा फैलिँदै गएको उल्लेख गरिएको छ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जर्ज मोरेइरा दा सिल्भाका अनुसार हिंसा र अस्थिरताका कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भइरहेका छन्, र यो संख्या निरन्तर बढ्दो क्रममा रहेको छ। उनले मध्यपूर्वको द्वन्द्वले सीमाना नाघेर विश्व अर्थतन्त्रमा समेत असर पारेको बताए। तेल, इन्धन र ग्यासको मूल्यमा तीव्र वृद्धि भई यसको प्रभाव विश्वभर देखिएको उनको भनाइ छ। विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख राष्ट्रहरू यसबाट बढी प्रभावित हुने अनुमान गरिएको छ। यस वर्ष विश्वव्यापी रूपमा भोकमरीको समस्या झन् गम्भीर बन्ने र प्रभावित हुने जनसंख्या करोडौंले बढ्न सक्ने चेतावनी पनि दिइएको छ। संयुक्त राष्ट्रसंघले सबै पक्षलाई सुरक्षा परिषद्का निर्णयहरू कार्यान्वयन गर्न तथा कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट द्वन्द्व समाधानतर्फ अग्रसर हुन आह्वान गरेको छ। उक्त निकायले हाल विश्वका १०० भन्दा बढी देशमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको छ।